दिगो विकासको अवधारणा प्रस्ट पार्नुहोस् ।
विकासका क्रममा साधनस्रोतको समुचित उपयोग गरी भावी पुस्ताले पनि स्रोतको प्रयोग गर्न पाउने अवस्था निर्माण गर्नु दिगो विकास हो। प्राकृतिक संसाधनको विवेकपूर्ण तथा बुद्धिमत्तापूर्ण उपयोगमार्फत गरिएको विकासले मानवीय आवश्यकताको परिपूर्ति र दिगोपना सुनिश्चित गर्दछ। विकासका लाभ र गतिलाई वर्तमानका अतिरिक्त भविष्यसम्म सुनिश्चितता दिने अवधारणा नै दिगो विकास हो। यसले वातावरणीय, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक, मानवीय र शासकीय गरी सबै आयाममा सन्तुलन कायम गर्न जोड दिन्छ।