Chapter 07f · Social Studies
32 blocks · bilingual

प्रथम विश्वयुद्ध — कारण र घटनाक्रम

LiveBilingual master notes · switch to नेपाली for the full glossary

Complete bilingual study notes for प्रथम विश्वयुद्ध — कारण र घटनाक्रम — every concept explained step by step, with definitions, formulas, and worked examples.

प्रथम विश्वयुद्ध — कारण र घटनाक्रम

अध्याय परिचय

मानव सभ्यताको इतिहासको एउटा विध्वंसात्मक कालखण्डका रूपमा चिनिएको प्रथम विश्वयुद्धमा विश्वका अधिकांश देश कुनै न कुनै प्रकारले सहभागी भएका थिए। यस अध्यायमा प्रथम विश्वयुद्ध सुरु हुनुका दूरगामी तथा तत्कालीन कारणहरू र यसका प्रमुख घटनाक्रमहरू अध्ययन गरिन्छ। यो अध्याय SEE का लागि महत्वपूर्ण छ किनभने यसबाट विश्व इतिहासको एउटा महत्वपूर्ण घटना र युद्धमा पुर्‍याउने गुटबन्दी, राष्ट्रवाद, साम्राज्यवाद जस्ता अवधारणाहरू बुझ्न सकिन्छ।

प्रथम विश्वयुद्धको सामान्य परिचय

सन् १९१४ को जुलाई २८ मा अस्ट्रिया हंगेरीद्वारा सर्बियामाथि आक्रमण भएपछि सुरु भएको यो युद्ध सन् १९१९ जुन २८ मा भर्सेलिजको सन्धिमा हस्ताक्षर गरिएपछि अन्त्य भएको थियो। विशेष गरी मित्र राष्ट्रअन्तर्गतका मुख्य देश बेलायत, फ्रान्स, रुस, इटालीलगायतका देशको समूह र धुरी राष्ट्रअन्तर्गतका जर्मनी, अस्ट्रिया हंगेरी, टर्कीलगायतका देशको समूहबिचमा यो विनाशकारी युद्ध भएको थियो। इतिहासकारले यस युद्धलाई महँगो र रक्तपातपूर्ण भनेर उल्लेख गरेका छन्।

प्रथम विश्वयुद्धका कारणहरू

(क) युरोपेली राष्ट्रबिचको गुटबन्दी र गोप्य सन्धि

जर्मनीका चान्सलर अटोभान बिस्मार्कले आफ्नो देशको सीमा जसरी भए पनि विस्तार गर्ने नीति तय गरेका थिए। यसै क्रममा सन् १८७१ मा उनले फ्रान्समाथि आक्रमण गरी एल्सेस र लोरेन प्रान्त कब्जा गर्यो। बिस्मार्कले युरोपमा फ्रान्सलाई एक्लो बनाउने नीति लिएका थिए, जसले गर्दा फ्रान्स र जर्मनीबिच शत्रुता सुरु भयो। यसै क्रममा जर्मनीले अस्ट्रिया हंगेरीसँग सन् १८७९ मा र इटालीसँग सन् १८८२ मा गोप्य सम्झौता गर्‍यो, जसलाई त्रिपक्षीय सन्धि भनिन्छ। सन् १८९० मा बिस्मार्कको पतन भएपछि फेरि फ्रान्सले जर्मनी विरुद्ध गतिविधि गर्न थाल्यो। सन् १८९४ मा फ्रान्सले रुससँग र सन् १९०४ मा बेलायतसँग सन्धि गर्‍यो, जसलाई त्रिपक्षीयमैत्री सन्धिका नामले चिनिन्छ। यी गोप्य सन्धिले युरोपका राष्ट्रहरू दुई शक्तिशाली गुटमा विभाजित हुन पुगे, जसले गर्दा आपसमा शंकाका साथै अस्वस्थ प्रतिस्पर्धा, घृणा, बदलाको भावना, ईर्ष्या र तनावको सिर्जना भयो र युद्धको कारण बन्न पुग्यो।

(ख) उग्र राष्ट्रवादी भावना र सैन्यवाद

युरोपका देश विशेष गरी जर्मनी र इटालीका जनतामा आफ्नो राष्ट्रप्रतिको भावना उच्च बिन्दुमा पुगेको थियो। यतिसम्मकी उनीहरू संसारमा अरू कुनै पनि राष्ट्रको अस्तित्वलाई गौण मान्दथे भने विश्वमा शासन गर्नका लागि आफ्नो जन्म भएको हो भन्ने गर्थे। यस प्रकारको उग्रराष्ट्रवादले राष्ट्रबिच दुरी बढायो। यस्तै जर्मनी र इटालीले आफ्ना सैनिकको सङ्ख्यामा समेत उल्लेख्य वृद्धि गरे। युरोपका अन्य राष्ट्रहरूले पनि आफ्नो सैन्य शक्ति बढाउने होड नै चलाए साथै प्रशस्त मात्रामा हातहतियारको वृद्धि गरे। सेना र हतियारको वृद्धिका कारण युरोपका राष्ट्रमा घमण्ड र उग्रतामा थप वृद्धि भयो, जुन युद्ध निम्त्याउने कारक बन्यो।

(ग) उपनिवेशवाद र साम्राज्यवाद

युरोपका देशले आफ्नो उद्योग र व्यापारको विस्तार गर्ने क्रममा आफ्नै मुलुकको बजार तथा कच्चा पदार्थको कमी भएको महसुस गरे। यसका लागि उनीहरूले एसिया, अफ्रिका तथा दक्षिण अमेरिकी मुलुकलाई व्यापारिक उपनिवेश बनाए। ती देशहरूमा चरम शोषण र आर्थिक नियन्त्रण गर्न थाले। यस कार्यमा युरोपका देश खास गरी बेलायत, फ्रान्स, जर्मनी, इटाली र रुसबिच प्रतिस्पर्धा र होडबाजी चल्यो। यो अस्वस्थ प्रतिस्पर्धाले तनाव सिर्जना गर्‍यो। यस क्रममा एकले अर्काको अभियानमा बाधा पार्ने र समस्या सिर्जना गरिदिने कार्य गर्न थाले। यसरी एउटाको साम्राज्यमाथि अर्कोले आक्रमण गर्ने, अवरोध गर्ने कार्यले अन्ततः युद्धको स्वरूप लिन पुग्यो।

(घ) भ्रमपूर्ण प्रचार र झुठो समाचारको प्रसारण

तत्कालीन समयमा युरोपका विभिन्न देशबाट प्रकाशित हुने भ्रमपूर्ण समाचारले राष्ट्रबिच अनावश्यक तनाव र अविश्वास सिर्जना गरेको थियो। एउटा देशबाट प्रकाशित समाचारले अर्को देशका बारेमा अपमान, घृणा र ईर्ष्या सिर्जना गर्दथ्यो। हरेक देशका समाचारपत्रले आफ्नो देशका बारेमा अनावश्यक बढाइचढाइ गरी लेख्ने गर्दथे। विरोधीका बारेमा नकारात्मक, झुठो, कपोलकल्पित र पूर्वाग्रहपूर्ण समाचार प्रसारण गर्दथे। यस्ता कार्यले जनतामा भ्रम सिर्जना भई युद्धको वातावरण तयार भएको थियो।

(ङ) बाल्कन प्रायद्वीपको समस्या

टर्की साम्राज्यअन्तर्गत ग्रिस, बुल्गेरिया, सर्बिया, मेसोडोनिया पर्दथे, जसलाई अटोमन इम्पायर (Ottoman Empire) भनिन्थ्यो। यिनीहरू एकआपसमा लडाइँ गरिरहन्थे भने टर्कीले उनीहरूमाथि गरेको दमनपूर्ण व्यवहारका कारण टर्की विरुद्ध एक थिए। ती राज्यहरू संयुक्त प्रयासबाट स्वतन्त्र हुन चाहन्थे। यसका लागि उनीहरूले एउटा साझा लिग बनाए, जसलाई बाल्कन लिग भनेर चिनिन्छ। उनीहरूको एकताको उद्देश्य टर्कीलाई जितेर बराबरी बाँड्ने थियो। यसैअनुरूप बाल्कन लिगले सन् १९१२ मा टर्कीलाई आक्रमण गर्‍यो र चारओटै राज्य स्वतन्त्र भए। स्वतन्त्र भए पनि ती बाल्कन राज्यको आपसी लडाइँ यथावत् नै थियो। अस्ट्रिया हंगेरी र जर्मनीले आफ्नो स्वार्थका लागि बुल्गेरियालाई उचाली रहेका थिए। फलस्वरूप बुल्गेरियाले सर्बियालाई आक्रमण गर्‍यो तर सर्बियाले बुल्गेरियालाई कब्जा गर्‍यो र सर्बिया ठूलो राष्ट्र बन्न पुग्यो। युद्धका कारण बाल्कन प्रायद्वीपको यसप्रकारको समस्या बन्न पुग्यो।

(च) ब्ल्याक ह्यान्ड सोसाइटीको गठन

बाल्कन राज्यअन्तर्गत पर्ने बोस्निया र हर्जगोभिना राज्यहरू सन् १९०८ को बर्लिन सम्मेलनद्वारा अस्ट्रिया हंगेरीको अधीनमा रहेका थिए। तिनीहरूका बासिन्दाको रहनसहन, भाषा र संस्कृति सर्बियासँग मिल्ने भएकाले उनीहरू सर्बियासँग मिल्न चाहन्थे। जसले गर्दा त्यहाँका युवाहरूले ब्ल्याक ह्यान्ड सोसाइटी नामको सङ्गठन निर्माण गरे। यसमा सर्बियाको गोप्य सहयोग रहेका कारण अस्ट्रिया हंगेरीसँग विवाद भयो र यो युद्धको कारण बन्न पुग्यो।

(छ) तत्कालीन कारण

अस्ट्रिया हंगेरीका राजकुमार आर्कड्युक फ्रान्सिस फर्डिनान्ड र उनकी पत्नी सोफी चोटेक बोस्नियाको राजधानी साराजेभोको भ्रमणमा गएका थिए। २८ जुन १९१४ मा बोस्नियाका एक विद्यार्थी ग्राभिलो प्रिन्सिपले गोली हानेर उनीहरूको हत्या गरे। उनी ब्ल्याक ह्यान्ड सोसाइटीका सदस्य रहेका थिए। यस घटनामा जर्मनीको इसारामा अस्ट्रिया हंगेरीले ब्ल्याक ह्यान्ड सोसाइटीलाई प्रतिबन्ध लगाई दमन गर्न सर्बियालाई भन्यो। त्यसको अनुगमन अस्ट्रियाले गर्न पाउनुपर्ने माग राखेर अठचालिस घन्टे चेतावनी पठायो। सर्बियाले ब्ल्याक ह्यान्ड सोसाइटीलाई कारबाही र प्रतिबन्ध लगाउन सकिने तर त्यसको निगरानी अस्ट्रिया हंगेरीलाई गर्न नदिने कुरा प्रस्ट पार्‍यो। जसले गर्दा दुई देशबिच थप तनाव सिर्जना भयो। अस्ट्रिया हंगेरीले सन् १९१४ जुलाई २८ मा सर्बियामाथि आक्रमण गर्‍यो र यही घटनाबाट प्रथम विश्वयुद्धको प्रारम्भ भयो।

प्रथम विश्वयुद्धका प्रमुख घटना

मितिमुख्य घटना
२८ जुलाई १९१४अस्ट्रियाद्वारा सर्बियाको राजधानी बेलग्रेडमाथि आक्रमण
२९ जुलाई १९१४रुसद्वारा सर्बियाको रक्षा गर्न आफ्ना सेनालाई आदेश र युद्धमा प्रवेश
३० जुलाई १९१४जर्मनीले रुसलाई सर्बियामा खटाएको सेना फिर्ता गर्न दबाब
१ अगस्त १९१४रुसले सेना फिर्ता नबोलाएपछि जर्मनीद्वारा रुसबिरुद्ध युद्धको घोषणा र फ्रान्सद्वारा रुसको समर्थन
३ अगस्त १९१४जर्मनीद्वारा फ्रान्स विरुद्ध युद्धको घोषणा; जर्मन सेना बेल्जियम प्रवेश; बेलायतद्वारा जर्मनीलाई चेतावनी
४ अगस्त १९१४बेल्जियमको सुरक्षाका लागि बेलायतद्वारा जर्मनी बिरुद्ध युद्धको घोषणा
१२ अगस्त १९१४बेलायत र फ्रान्सद्वारा अस्ट्रिया हंगेरी बिरुद्ध युद्धको घोषणा
२० अक्टोबर १९१४बेल्जियमको यप्रस सहरमा प्रथम यप्रस युद्ध; ठूलो सङ्ख्यामा सेनाको मृत्यु
२४ मे १९१५इटालीद्वारा अस्ट्रिया हंगेरी विरुद्ध युद्धको घोषणा
१५ अक्टोबर १९१५बेलायतद्वारा बुल्गेरिया विरुद्ध युद्धको घोषणा
२७ अगस्त १९१६रोमानियाद्वारा अस्ट्रिया हंगेरी विरुद्ध युद्धको घोषणा
२८ अगस्त १९१६इटालीद्वारा जर्मनी विरुद्ध युद्धको घोषणा
६ अप्रिल १९१७अमेरिकाद्वारा जर्मनी विरुद्ध युद्धको घोषणा
७ अगस्त १९१८जर्मन सेनाको पराजय र जर्मनको कालो दिन
९ नोभेम्बर १९१८जर्मन सम्राट कैजर विलियम द्वितीय भागेर हल्यान्ड पलायन
२८ जुन १९१९पेरिस शान्ति सम्मेलन, भर्सेलिजको सन्धि र युद्धको अन्त्य

मित्र राष्ट्र र धुरी राष्ट्र

समूहमुख्य देश
मित्र राष्ट्र (Allied Powers)बेलायत, फ्रान्स, रुस, इटाली आदि
धुरी राष्ट्र (Central Powers)जर्मनी, अस्ट्रिया हंगेरी, टर्की आदि

महत्वपूर्ण व्यक्तिहरू

व्यक्तिभूमिका
अटोभान बिस्मार्कजर्मनीका चान्सलर; सीमा विस्तार नीति र गोप्य सन्धिहरूको प्रवर्तक
आर्कड्युक फ्रान्सिस फर्डिनान्डअस्ट्रिया हंगेरीका राजकुमार; साराजेभोमा हत्या भएका
सोफी चोटेकफर्डिनान्डकी पत्नी; उनीसँगै हत्या भएकी
ग्राभिलो प्रिन्सिपबोस्नियाली विद्यार्थी र ब्ल्याक ह्यान्ड सोसाइटीका सदस्य; फर्डिनान्ड दम्पतीको हत्यारा
कैजर विलियम द्वितीयजर्मन सम्राट; युद्धको अन्त्यतिर हल्यान्ड पलायन भएका

महत्वपूर्ण शब्द तथा अर्थ

शब्दअर्थ
त्रिपक्षीय सन्धिजर्मनी, अस्ट्रिया हंगेरी र इटालीबिच सन् १८७९-१८८२ मा भएको गोप्य सम्झौता
त्रिपक्षीयमैत्री सन्धिफ्रान्स, रुस र बेलायतबिच सन् १८९४-१९०४ मा भएको सन्धि
उग्रराष्ट्रवादआफ्नो राष्ट्रलाई सर्वोपरि र अरू राष्ट्रलाई गौण ठान्ने अत्यधिक राष्ट्रिय भावना
साम्राज्यवादकुनै शक्तिशाली राष्ट्रले अन्य कमजोर राष्ट्र वा भूभागमाथि राजनीतिक, आर्थिक वा सैनिक प्रभुत्व स्थापित गर्ने नीति
उपनिवेशवादसाम्राज्यवादी नीतिको व्यावहारिक कार्यान्वयनस्वरूप कुनै भूभागलाई प्रत्यक्ष कब्जा गरी शासन र आर्थिक शोषण गर्ने व्यवस्था
बाल्कन लिगटर्कीविरुद्ध ग्रिस, बुल्गेरिया, सर्बिया, मेसोडोनियाले बनाएको साझा सङ्गठन
ब्ल्याक ह्यान्ड सोसाइटीबोस्निया-हर्जगोभिनाका युवाहरूले सर्बियासँग मिल्ने उद्देश्यले बनाएको गोप्य सङ्गठन
भर्सेलिजको सन्धि२८ जुन १९१९ मा भएको सन्धि, जसले प्रथम विश्वयुद्धको औपचारिक अन्त्य गर्‍यो

SEE परीक्षा टिप्स

  • प्रथम विश्वयुद्धका कारणहरूलाई (क) देखि (छ) सम्म क्रमबद्ध रूपमा याद गर्नुहोस्
  • दूरगामी कारण र तत्कालीन कारणलाई छुट्याएर लेख्नुहोस्
  • घटनाक्रमका मितिहरूमा सन् (Gregorian calendar) प्रयोग भएको ध्यान दिनुहोस्, वि.सं. होइन
  • उदाहरणसहित पुष्टि गर्ने प्रश्नमा अवधारणा मात्र नभई ठोस उदाहरण पनि दिनुहोस्
  • व्यक्ति र सङ्गठनका नाम (जस्तै ग्राभिलो प्रिन्सिप, ब्ल्याक ह्यान्ड सोसाइटी) सही हिज्जेमा लेख्न ध्यान दिनुहोस्

छिटो पुनरावृत्ति

  • युद्ध सुरु: २८ जुलाई १९१४; युद्ध अन्त्य: २८ जुन १९१९ (भर्सेलिजको सन्धि)
  • त्रिपक्षीय सन्धि: जर्मनी-अस्ट्रिया हंगेरी-इटाली
  • त्रिपक्षीयमैत्री सन्धि: फ्रान्स-रुस-बेलायत
  • बाल्कन लिगले टर्कीलाई आक्रमण: सन् १९१२
  • साराजेभो हत्याकाण्ड: २८ जुन १९१४, ग्राभिलो प्रिन्सिपद्वारा
  • अस्ट्रिया हंगेरीको सर्बियामाथि आक्रमण: २८ जुलाई १९१४ (तत्कालीन कारण)
  • अमेरिका युद्धमा प्रवेश: ६ अप्रिल १९१७
  • जर्मन सम्राटको पलायन: ९ नोभेम्बर १९१८