उत्तर अमेरिकाका विकसित राष्ट्र र नेपालबिच आर्थिक सामाजिक अवस्थाको तुलना गर्नुहोस्।
उत्तर अमेरिकाका विकसित राष्ट्र (संयुक्त राज्य अमेरिका र क्यानाडा) र नेपालबिचको आर्थिक सामाजिक अवस्थामा उल्लेखनीय भिन्नता पाइन्छ। उत्तर अमेरिकामा दक्ष जनशक्तिको पर्याप्तता र उचित व्यवस्थापन, अधिकतम स्रोत र साधनको परिचालन भएकाले त्यहाँको आर्थिक अवस्था निकै मजबुत छ र यी देश विश्वका अधिक प्रतिव्यक्ति आय हुने मुलुकको शीर्ष स्थानमा पर्दछन्। त्यहाँ सेवा, उद्योग र प्रविधिमा मानिसको बढी संलग्नता छ भने कृषिमा कम मानिस संलग्न भए पनि आधुनिक र व्यावसायिक खेतीका कारण उत्पादन प्रशस्त भई देश खाद्यान्नमा आत्मनिर्भर छन्। यसको विपरीत नेपाल कृषिप्रधान देश भए पनि परम्परागत खेती प्रणाली, दक्ष जनशक्तिको कमी र स्रोत-साधनको सीमित परिचालनका कारण आर्थिक अवस्था कमजोर र खाद्यान्नमा समेत आंशिक रूपमा आयातमा निर्भर रहनुपरेको छ। सामाजिक जीवनमा पनि उत्तर अमेरिकामा लोकतन्त्र, स्वतन्त्रता, समानता, समावेशिता र समताका साथै मानव सुरक्षा र आयआर्जनका प्रशस्त सुविधा भई जीवनशैली उन्नत छ, जबकि नेपालमा यी सुविधाहरूको विस्तार अझै क्रमिक रूपमा भइरहेको छ।