Chapter 06j · Social Studies
25 blocks · bilingual

प्राकृतिक प्रकोप — भूकम्प

LiveBilingual master notes · switch to नेपाली for the full glossary

Complete bilingual study notes for प्राकृतिक प्रकोप — भूकम्प — every concept explained step by step, with definitions, formulas, and worked examples.

अध्याय १८: प्राकृतिक प्रकोप — भूकम्प

अध्याय परिचय

यस अध्यायमा भूकम्पको अर्थ, यो किन र कसरी जान्छ, नेपाल भूकम्पीय जोखिम क्षेत्रमा किन पर्छ, भूकम्पको मापन विधि तथा भूकम्पबाट सुरक्षित हुने उपायबारे अध्ययन गरिन्छ। भूकम्प एक प्राकृतिक प्रकोप हो जसलाई रोक्न सकिँदैन तर यसबाट हुने क्षति भने न्यूनीकरण गर्न सकिन्छ। यो अध्याय SEE का लागि महत्त्वपूर्ण छ किनभने भूकम्पको परिभाषा, उद्गमबिन्दु र केन्द्रबिन्दुबिचको भिन्नता, भूकम्प मापनका विधि तथा सुरक्षाका उपायहरू बारम्बार सोधिने विषय हुन्।

भूकम्प के हो?

पृथ्वीको भित्री भागमा निरन्तर भइरहने हलचलका कारणले बाहिरी भागमा रहेका भूगर्भिक चट्टानका पत्रहरू (Tectonic Plates) एकआपसमा ठोक्किने वा टाढिने वा च्यातिने हुन्छन्। यस क्रममा पृथ्वीको भित्री भागमा जम्मा हुँदै गएको शक्ति एक्कासि बाहिर फैलिँदा पृथ्वीको सतहमा आउने कम्पनलाई भूकम्प भनिन्छ। भूकम्पसँगै तरङ्ग पैदा हुने र टाढा टाढासम्म फैलिने हुन्छ। शक्तिशाली भूकम्पले धनजनमा क्षति पुऱ्याउने गर्छ।

भूकम्प के कारणले कहाँ जान्छ?

पृथ्वीमा मध्यमण्डलको माथिल्लो भागमा पातलो तह वा प्लेट हुन्छ। करिब १०० किलोमिटरको बाहिरी सतह अर्थात् लिथोस्फेयरमा यस्ता सातओटा ठुला र अरू दर्जनौं साना टुक्राका प्लेटहरू हुन्छन्। यी प्लेटहरू चलायमान भई एकआपसमा धसिने र घर्षण भइरहने हुन्छ। परिणामस्वरूप ऊर्जा भण्डारण भई भूकम्प जान्छ। यसका अतिरिक्त ज्वालामुखी, आणविक हतियार बिस्फोटलगायतका कारणले पनि भूकम्प जान सक्छ।

नेपालमा भूकम्प जानुको कारण

नेपालको भूखण्डमुनि दक्षिणतर्फको इन्डियन प्लेट निरन्तर रूपमा उत्तरतर्फ रहेको तिब्बत (युरेसियन) प्लेटको दक्षिणी भागमा प्रति वर्ष २ से.मि.का दरले घुसिरहेको पाइएको छ। नेपालको उत्तरमा रहेको करिब ३००० मिटर उचाइ भएको पहाडमुनि करिब १५ देखि २५ कि.मि.मा शक्ति सञ्चय हुने गरेको पाइन्छ। यसरी चट्टान र प्लेटहरूको घुस्ने वा जुध्ने क्रममा केही अवरुद्ध हुँदा सञ्चित भएको शक्ति थेग्न नसकेपछि चट्टान अचानक भाँचिन्छन्। ती चट्टान भाँचिँदा उत्पन्न हुने तरङ्ग चारैतिर फैलिन्छ र नेपालमा भूकम्प जान्छ।

दुई प्लेटको परस्पर ठक्करबाट भूकम्प जाने क्रमसँगै हिमालय पर्वत शृङ्खला बनेको वा बनिरहेको र अग्लो हुँदै गइरहेको अनुसन्धानले बताएको छ। पूर्वमा म्यानमारदेखि पश्चिममा अफगानिस्तानसम्म करिब २५०० कि.मि. लामो हिमालय पर्वत शृङ्खलाको मध्य भागको करिब ८०० कि.मि. खण्ड नेपालमा पर्छ। त्यसैले नेपाल भूकम्पीय संवेदनशील वा भूकम्पीय जोखिम क्षेत्रका रूपमा रहेको मानिन्छ।

भूकम्पसम्बन्धी शब्दावली

  • उद्गमबिन्दु (Hypocenter): पृथ्वीको सतहभन्दा ठिकमुनि भूकम्पको उत्पत्ति हुने भाग।
  • केन्द्रबिन्दु (Epicenter): उद्गमबिन्दुबाट ठिकमाथि पृथ्वीको सतह जहाँ हलचलको पहिलो भड्का महसुस गरिन्छ।
  • पूर्व धक्का (Foreshocks): कहिलेकाहीं भूकम्पभन्दा अघि महसुस हुने धक्का, जसले ठुला भूकम्प आउने सङ्केत गर्छ।
  • मुख्य हलचल (Main shock): भूकम्पको ठुलो धक्का।
  • पराकम्पन (Aftershocks): मुख्य भूकम्पपछि निरन्तर जाने साना भूकम्प, जुन हप्ता, महिना र वर्षौंसम्म जारी रहन सक्छ।

भूकम्प मापन

भूकम्पलाई सिस्मोग्राफ वा सिस्मोमिटर उपकरणको सहायताले मापन गरिन्छ। यसमा रहेको स्केल जडित ग्राफलाई सिस्मोग्राफ भनिन्छ। सिस्मोग्राफको तलको भाग अथवा आधारलाई जमिनमा मिलाएर राखिएको हुन्छ र एउटा भारी तौल भुन्ड्याइएको हुन्छ। भूकम्पले जमिन हल्लाउँदा सिस्मोग्राफको आधार पनि हल्लिन पुग्छ। यसरी त्यहाँ रहेको स्प्रिङ्गले भूकम्पको मापन गर्दछ। यस यन्त्रबाट भूकम्पको वेग (Magnitude), उद्गमबिन्दु (Hypocenter) तथा केन्द्रबिन्दु (Epicenter) आदि पत्ता लगाउन सकिन्छ।

भूकम्पको उद्गम बिन्दुमा शक्ति क्षय भएको रेक्टर स्केलमा गरिने मापन र स्थान विशेषमा भएको कम्पनको मात्रा र त्यसले पुऱ्याउने असर गरी दुई तरिकाले भूकम्प मापन गरिन्छ। भूकम्पको भौतिक असर त्यसको तीव्रता, म्याग्निच्युड, केन्द्रबिन्दुबाट स्थान विशेषको दूरी, भौगर्भिक अवस्था, भौतिक संरचनाको दृढता आदि कुरामा निर्भर हुन्छ। भूकम्पको म्याग्निच्युड १ अङ्कले वृद्धि हुँदा यसको शक्ति ३२ गुणाले वृद्धि हुन्छ भने भूकम्पले ल्याउने कम्पनमा १० गुणाले वृद्धि हुन्छ। अर्थात् ५ रेक्टर स्केलको भूकम्पभन्दा ६ रेक्टर स्केलको भूकम्प ३२ गुणाले शक्तिशाली हुन्छ। यसैगरी ५ रेक्टर स्केलको भूकम्पभन्दा ७ रेक्टर स्केलको भूकम्प १०२४ गुणा शक्तिशाली भई १०० गुणा बढी कम्पन गराउँछ।

नेपालमा भूकम्प मापनको पहिलो स्थल (Seismic Station) ललितपुरको फुलचोकी डाँडामा स्थापना गरिएको हो। यो केन्द्रबाट प्राप्त हुने भूकम्पीय आँकडाहरू खानी तथा भूगर्भ विभागअन्तर्गतको राष्ट्रिय भूकम्प मापन केन्द्रमा रेकर्ड हुन्छन्। नेपालमा हालसम्म यस्ता स्थल २१ ओटा र दुईओटा भूकम्प मापन केन्द्र रहेका छन्।

भूकम्प तथा यसको क्षतिबाट सुरक्षित हुने उपाय

भूकम्पलाई रोक्न सकिँदैन तर यसबाट हुने क्षतिलाई भने कम गर्न सकिन्छ। जनचेतनासँगै निर्माण संहिताको प्रयोग गरी भूकम्प प्रतिरोधी संरचना निर्माणलगायतका निम्नलिखित सावधानी अपनाउँदा सुरक्षित हुन सकिन्छ।

  1. 1एक दुई दिनका लागि पुग्ने चिउरा तथा चाउचाउ जस्ता सुख्खा खाना, टर्चलाइट, सिटी, खानेपानीका बोतल, औषधी र आफ्नो परिचयपत्र रहेको आपत्कालिन झोला सधैं तयारी अवस्थामा राख्ने।
  2. 2भूकम्प प्रतिरोधी संरचनाको निर्माण गर्ने।
  3. 3चर्किएका वा भत्किन लागेका घर एवम् अन्य संरचना भित्र नबस्ने।
  4. 4भूकम्पका वेला टेबुल, खाट वा डेस्कबेन्चमुनि घुँडा टेकेर गुड्डुल्किने, ओत लागेर समात्ने र बिस्तारै सुरक्षित खुला ठाउँतिर लाग्ने।
  5. 5भूकम्प गएका बेला विद्युत् र ग्याँसको स्विच बन्द गर्ने।
  6. 6आपतमा परेकालाई आवश्यक सहयोग गर्दै उद्धार कार्यमा संलग्न हुने र सूचनाका लागि रेडियोलगायतका सञ्चारका साधन सुन्ने।
  7. 7भूकम्प रोकिएपछि आगलागी हुने, पहिरो जाने, ढुङ्गा खस्ने, बाढी आउनेलगायतका जोखिम पनि हुन सक्छन्, तसर्थ सावधानी अपनाउने।

महत्वपूर्ण शब्द तथा अर्थ

शब्दअर्थ
भूकम्पपृथ्वीको भित्री भागमा जम्मा भएको शक्ति एक्कासि बाहिर फैलिँदा पृथ्वीको सतहमा आउने कम्पन
Tectonic Platesपृथ्वीको बाहिरी सतह (लिथोस्फेयर) मा रहेका भूगर्भिक चट्टानका पत्रहरू
उद्गमबिन्दु (Hypocenter)पृथ्वीको सतहभन्दा ठिकमुनि भूकम्पको उत्पत्ति हुने भाग
केन्द्रबिन्दु (Epicenter)उद्गमबिन्दुबाट ठिकमाथि पृथ्वीको सतहमा पर्ने भाग जहाँ पहिलो भड्का महसुस हुन्छ
सिस्मोग्राफभूकम्प मापन गर्ने स्केल जडित ग्राफयुक्त उपकरण
रेक्टर स्केलभूकम्पको उद्गम बिन्दुमा शक्ति क्षय मापन गर्ने स्केल
पराकम्पन (Aftershocks)मुख्य भूकम्पपछि निरन्तर जाने साना भूकम्प

SEE परीक्षा टिप्स

  • उद्गमबिन्दु र केन्द्रबिन्दुको भिन्नता नमिसाई लेख्ने — उद्गमबिन्दु भूगर्भमुनि, केन्द्रबिन्दु त्यसमाथिको सतहमा।
  • नेपाल भूकम्पीय जोखिममा पर्नुको कारण लेख्दा इन्डियन प्लेट र युरेसियन प्लेटको ठक्कर तथा हिमालय शृङ्खलाको ८०० कि.मि. भाग नेपालमा पर्ने कुरा उल्लेख गर्ने।
  • रेक्टर स्केलको गणित (१ अङ्क वृद्धिमा शक्ति ३२ गुणा, कम्पन १० गुणा) सही सम्झने।
  • भूकम्प मापनको पहिलो स्थल (फुलचोकी, ललितपुर) र स्थलहरूको सङ्ख्या (२१ स्थल, २ मापन केन्द्र) याद राख्ने।
  • सुरक्षाका उपाय लेख्दा भूकम्पअघि, भूकम्पका बेला र भूकम्पपछि गरी तीन चरणमा छुट्याएर लेख्न सकिन्छ।

छिटो पुनरावृत्ति

  • भूकम्प — Tectonic Plates को ठोक्काइ/घर्षणबाट उत्पन्न कम्पन।
  • लिथोस्फेयरमा ७ ठुला + दर्जनौं साना प्लेट।
  • नेपाल — इन्डियन प्लेट युरेसियन प्लेटमा प्रति वर्ष २ से.मि.का दरले घुस्दै।
  • हिमालय शृङ्खला — म्यानमारदेखि अफगानिस्तानसम्म २५०० कि.मि., नेपालमा ८०० कि.मि.।
  • उद्गमबिन्दु (Hypocenter) — भूगर्भमुनि; केन्द्रबिन्दु (Epicenter) — सतहमा।
  • मापन उपकरण — सिस्मोग्राफ/सिस्मोमिटर; स्केल — रेक्टर स्केल।
  • म्याग्निच्युड १ वृद्धि = शक्ति ३२ गुणा, कम्पन १० गुणा वृद्धि।
  • नेपालको पहिलो भूकम्प मापन स्थल — फुलचोकी, ललितपुर।
  • नेपालमा हाल — २१ मापन स्थल + २ मापन केन्द्र।